काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीका लागि सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राको नाम अन्तिम समयमा हटाएकी छिन् ।
आइतबार साँझ मन्त्रिपरिषद्को सिफारिसमा मिश्राको नामसहितको फाइल राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो । तर उनको विवादास्पद विगत सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीले फाइल फिर्ता मागेकी थिइन् । सोमबार बिहान ७ बजे राष्ट्रपति कार्यालयबाट सो फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फर्काइएको थियो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार बिहान ९ बजे सो फाइल पुनः शीतल निवास पुगेको थियो, तर यसपटक मिश्राको नाम काटिएको थियो । स्रोतले भन्यो, ‘हिजो आएको सिफारिसमा डा. मिश्राको नाम थियो, तर फाइल सच्याएर फर्किँदा उहाँको नाम हटाइएको थियो ।’
यसपछि सोमबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले चार मन्त्रीलाई शपथ गराउने कार्यक्रम तय भएको छ । सर्वोच्चका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन् । मदन परियार कृषि तथा पशुपक्षी विकास, पत्रकार जगदिश खरेल सञ्चार तथा सूचना प्रविधि र आविष्कारक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नियुक्त हुनेछन् ।
यसअघि प्रधानमन्त्री कार्कीले आइतबार मिश्रासहित पाँच मन्त्रीको नाम सिफारिस गरेकी थिइन् । तर मिश्राको नाम हटाइएपछि चार मन्त्री मात्र शपथ लिने निश्चित भएको हो ।
गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन् । नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद् अब आठ सदस्यीय हुने भएको छ ।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया