काठमाडाैं । झुठा विवरणका आधारमा नागरिकता सिफारिस गरेको आरोपमा पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुबोध राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार यादवले कम्तीमा चार जनालाई नक्कली वतन तथा विवरण प्रस्तुत गरी नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रक्रियामा सिफारिस र सनाखतसमेत गराइएका थिए।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत असार ३ गते नै वडाध्यक्ष यादवविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीलाई पत्राचार गरेको थियो। त्यसपछि गरिएको प्रारम्भिक छानबिनमा उनले झुठा विवरण पेश गरेर नागरिकता सिफारिस गरेको तथ्य पुष्टि भएको प्रहरीले जनाएको छ।
यादवलाई नियन्त्रणमा लिएर आइतबारदेखि थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाही जिल्ला अदालतबाट १५ दिनको म्याद अनुमति लिएर मुद्दा अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया