काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले युवा पुस्ताको अपेक्षा पूरा गर्न र सेवा गुणस्तर सुधार्न प्राधिकरणमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका सिलवालले हालको सेवा प्रवाहले ग्राहकहरूको सन्तुष्टि पुरा गर्न नसकेको बताए। उनले आफ्नो कार्यकालमा गुणस्तरीय विद्युत् आपूर्ति, विद्युत पहुँच विस्तार, निर्यात प्रवर्द्धन र प्राधिकरणको आर्थिक तथा प्राविधिक सुदृढीकरणलाई प्राथमिकता दिने बताएका छन्।

advertisement

सिलवालले भने, ‘युवा पुस्ताको अपेक्षा ठूलो छ, तर हालको सेवा डेलिभरीले उनीहरू सन्तुष्ट छैनन्। अब उनीहरू सन्तुष्ट हुने गरी सेवा प्रवाहमा सुधार गर्न आवश्यक छ। देशभर अझै विद्युत् नपुगेका स्थानमा विद्युतीकरणलाई तीव्रता दिनुपर्ने छ।’

उहाँले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्तिमा विशेष ध्यान दिने, निजी क्षेत्रसँग सहकार्य गरी विद्युत् खरिद–बिक्री बढाउने र भारत लगायतका देशहरूसँग आयात–निर्यात सम्भावना अध्ययन गरेर प्रवर्द्धन गर्ने योजना रहेको पनि बताए।

कार्यकारी निर्देशक सिलवालले प्राधिकरणको आन्तरिक सुदृढीकरणमा जोड दिँदै आर्थिक र प्राविधिक दृष्टिले संस्थालाई बलियो बनाउन आवश्यक रहेको स्पष्ट पारे। डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुली पनि प्राथमिकतामा राख्ने उनको भनाइ छ।

सिलवालले निजी क्षेत्रसँगको विद्युत् खरिद सम्झौता निरन्तरता दिने र सरकारले तयार पारेको २८ हजार मेगावाटको ऊर्जा रोडम्याप पूरा गर्न निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com