काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आफ्नो कार्यकालमा युवा पुस्ताको अपेक्षा सम्बोधन हुनेगरी सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। पदभार ग्रहण गर्दै उनले हालको सेवाले ग्राहकलाई आवश्यक गुणस्तर दिन नसकेको भन्दै सुधारलाई पहिलो प्राथमिकतामा राख्ने बताए।

advertisement

सिलवालका अनुसार गुणस्तरीय विद्युत् आपूर्ति, देशभर पहुँच विस्तार, निर्यात प्रवर्द्धन र प्राधिकरणलाई आर्थिक तथा प्राविधिक रूपमा सुदृढ बनाउनु आफ्नो प्रमुख एजेन्डा हुनेछ। ‘युवा पुस्ताको अपेक्षा ठूलो छ, तर सेवा डेलिभरी सन्तोषजनक छैन। अब उनीहरूलाई सन्तुष्ट हुने स्तरमा सेवा दिनुपर्छ,’ उनले भने।

उनले अझै पनि विद्युत् नपुगेका क्षेत्रमा विद्युतीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए। साथै, औद्योगिक क्षेत्रमा नियमित आपूर्ति सुनिश्चित गर्न विशेष ध्यान दिने बताए। ‘निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् खरिद–बिक्री बढाउने र भारतलगायत अन्य मुलुकमा निर्यात सम्भावना विस्तार गर्नेछौँ,’ उनले जोड दिए।

आन्तरिक सुदृढीकरणलाई अर्को प्राथमिकता बनाउने उनले प्राधिकरणको आर्थिक र प्राविधिक क्षमता मजबुत पार्ने तथा डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुलीलाई प्राथमिकतामा राख्ने बताएका छन्।

सिलवालले निजी क्षेत्रसँगको विद्युतीय सहकार्यलाई निरन्तरता दिने स्पष्ट गर्दै सरकारको २८ हजार मेगावाट ऊर्जा रोडम्यापलाई आधार बनाएर अघि बढ्ने उल्लेख गरे। ‘यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य छ,’ उनले भने।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com