काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिलकुमार शर्माले राजनीतिक दल र नेतृत्वलाई समयमै आत्मसमिक्षा गरेर सुधार नगरे ठूलो जनविद्रोह हुने चेतावनी दिएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले जेन–जी आन्दोलनलाई केवल युवाको होइन, आम जनताको आन्दोलनका रूपमा बुझ्नुपर्ने बताए। ‘यदि दलहरूले आफ्ना गल्ती र राजनीतिक अपराधको आत्मालोचना गरेर सुधार नगरे, जेन–जी आन्दोलनका उपलब्धीलाई शून्य पार्ने षड्यन्त्र जारी राखे भने भविष्यमा अझ ठूलो विद्रोह अनिवार्य हुन्छ,’ शर्माले लेखेका छन्।
उनले प्रत्यक्ष कार्यकारीको निर्वाचन, कार्यकाल सीमा, पार्टी नेतृत्वमा समयसीमा, चार वर्षमै महाधिवेशनको अनिवार्यता, न्यायालयमा राजनीतिक नियुक्ति निषेध गरी लोक सेवा आयोगसरह स्वायत्त निकाय गठन गर्ने माग राखे। साथै, गैरआवासीय नेपाली (एनआरएन) का अधिकार सुनिश्चित गर्ने, विपन्न परिवारलाई १ प्रतिशत ब्याजदरमा उच्च शिक्षाका लागि सहुलियत ऋण उपलब्ध गराउने र १० लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा संविधानमै सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
‘आज नेताहरू आन्दोलनमा कुटिएका छन्। तर भविष्यमा स्थिति बेग्लै भयो भने उनीहरूलाई खोजी खोजी मारिन सक्ने अवस्था आउन सक्छ। आफ्नै घरभित्र पनि सुरक्षा नहुने सम्भावना छ,’ उनले चेतावनी दिँदै देश र जनताको सवालमा पार्टीभन्दा माथि उठ्नुपर्ने आवश्यकता औंल्याए।
राजनीतिक विचारसँगै डा. शर्मा सामाजिक र मानवीय सेवामा पनि सक्रिय छन्। प्रतिनिधि सभा सदस्य हुँदा तलब-भत्ता नलिने एक मात्र सांसदका रूपमा चिनिएका उनले निरन्तर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। दुर्गम क्षेत्रमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था गर्दै आएका छन्।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। हालै मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका उनले देशका सात जिल्लामा निजी पहलमै एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय पहलहरूले ‘नेता भनेको जनताको साँचो अभिभावक हो,’ भन्ने सन्देशलाई बलियो पारेको छ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया