काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेलगत्तै मन्त्रालयमै बस्ने निर्णय गरेका छन्। उनले मन्त्रालयभित्रै आफ्नो बसाइका लागि खाट र खाना पकाउने किचेनको व्यवस्था मिलाइदिन कर्मचारीलाई निर्देशन दिएका छन्।
सोमबार पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पुनले भने, ‘म जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी छ। मन्त्रालयमै एउटा कोठा बनाउनुस्, कुर्सी र किचेन चाहिन्छ, म आफैं पकाएर खान्छु।’
पत्रकारले सरकारी क्वाटर नहुँदा बसाइ कसरी गर्ने भन्ने प्रश्नमा उनले मन्त्रालयमै बस्ने आफ्नो इच्छा प्रष्ट पारे।
व्यक्तिगत सुरक्षाबारे उनले अतिरिक्त सुरक्षाकर्मी आवश्यक नपर्ने बताए। ‘मसँग आएका एक जना प्रहरी र एक जना सैनिकलाई भनेको छु, म मन्त्रालयमा हुँदा यहीं बसौँ, बाहिर जाँदा पछिपछि आउनु पर्दैन,’ पुनले स्पष्ट पारे।
तर उनले औपचारिक कामका लागि मन्त्रालयको गाडी प्रयोग गर्ने जानकारी दिए।
आविष्कार र प्रविधिको क्षेत्रमा सक्रिय पुन पहिलो पटक मन्त्री बनेका हुन्। पदभार ग्रहणसँगै उनले राष्ट्रिय आविष्कार केन्द्रको अध्यक्ष पदबाट राजीनामा दिएको पनि बताए। ‘मन्त्री भएपछि त्यो पदमा रहनु उचित हुँदैन, म राजीनामा गरिसकेको छु,’ उनले भने।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया