काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्व नेतृ सुमना श्रेष्ठले हालैको जेन-जी आन्दोलनप्रति शीर्ष नेताहरूले देखाएको उदासीनता र असंवेदनशीलताको तीव्र आलोचना गरेकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले नेताहरूले आन्दोलनपछि पद छाड्न त परै जाओस्, सामान्य माफी वा आत्मआलोचनासमेत नगरेको बताउँदै आक्रोश पोखिन्। उनले लेखेकी छिन्, ‘जेन-जी आन्दोलनपछि कुनै पनि शीर्ष नेताले माफी मागेको वा आत्मलोचना गरेको सुनिनै पाएन। जनताको दुःखप्रति अलिकति समेत संवेदना देखिएन।’
श्रेष्ठले नेताहरूले आन्दोलनको मूल विषयलाई भटकाउन खोजेको आरोप लगाउँदै भनेकी छन्, ‘अझै ‘गोली अरुले चलाएको’, ‘घुसपैठ भएको’ भन्ने बहानामा मुख्य विषयलाई मोड्न खोजिएको छ। मूल प्रश्न त यही हो—सेप्टेम्बर ८ मा किन यति धेरै युवा सडकमा उत्रिए, असन्तुष्टिको आगो किन यत्रो बढ्यो?’
उनले मन्त्रीहरूको अभिव्यक्तिले आन्दोलनमा भएको क्षतिमा थप अपमान थपेको टिप्पणी समेत गरेकी छन्। नेतृत्वको दम्भ अझै घटेको नभएको भन्दै श्रेष्ठले भनिन्, ‘युवाको ज्यान जाँदा र ठूलो क्षति हुँदासमेत चेत नखुलेकोमा म अचम्मित छु। जलेको पैसा नक्कली थियो, अलिक समय पर्खँदा काम हुन्थ्यो भन्ने जस्ता बहाना राजनीतिको नाममा स्ट्यान्डअप कमेडी जस्ता देखिन्छ।’
आगामी निर्वाचनलाई ध्यानमा राख्दै उनले जेन-जी तथा परिवर्तन चाहनेहरूलाई एकजुट हुन आह्वान गरेकी छन्। उनले चेतावनी दिइन् कि युवाको मत विभाजन भए फेरि पुराना दलहरू संसदमा फर्कने खतरा छ।
श्रेष्ठले थप भनिन्, ‘सबै कुरा मैले सोचेकै अनुसार हुनु पर्छ भनेर भिन्न मत राखेर फुट्ने काम नगरौँ। मुद्दा के महत्वपूर्ण छ र के गौण छ, त्यसलाई स्पष्ट बुझौँ। यसपालिको मत वृष्टि एकै भाँडोमा राखौँ।’
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार











प्रतिक्रिया