काठमाडौं । सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या भएको घटनामा संलग्न आशंकामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये मृतकका आफन्त र छरछिमेक पनि रहेका प्रहरी स्रोतले जनाएको छ।
बालकको शव गाउँ नजिकै फेला परेकाले घटना परिवार वा छिमेकीसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तर अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम विवरण सार्वजनिक गरिएको छैन।
गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा अभिषेक सिंह आइतबार राति ८ बजे घरबाट हराएका थिए। परिवारले रातभर खोजतलास गरे पनि उनी फेला परेनन्।
सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।
तर सोही बिहान घरभन्दा केही टाढा रहेको आँपको बगैंचामा अभिषेकको शव फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया