काठमाडौं । दाइजो नल्याएको कारण देखाउँदै भारतमा एक नेपाली महिलाको ज्यान गएको छ। बिहारको दरभंगा जिल्लास्थित नेहरा थाना क्षेत्रभित्र सोमबार राति सो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जनकपुरधामकी ३० वर्षीया तुलसी ठाकुरलाई उनका पति रजनीश ठाकुरले फलामको रडले टाउकोमा प्रहार गर्नुका साथै छुरा घोपेर गम्भीर घाइते बनाए। उपचारका लागि मधुबनीस्थित रामशीला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको बताइएको छ।

advertisement

मृतकका पिता पवन ठाकुरको उजुरीका आधारमा भारतीय प्रहरीले रजनीशलाई पक्राउ गरेको छ। तर घटनापछि उनका अन्य परिवारका सदस्य फरार भएको समाचारमा उल्लेख छ।

तुलसीको विवाह करिब १६ वर्षअघि रजनीशसँग भएको थियो। उनीहरूको तीन सन्तान छन्। तर छिमेकीहरूको भनाइअनुसार रजनीशले लामो समयदेखि पत्नीमाथि शारीरिक हिंसा गर्दै आएका थिए। तीन वर्षअघि निरन्तरको यातना सहन नसकी तुलसी माइती घर जनकपुरमा बसेकी थिइन्। केही महिनापछि फेरि आफ्नै घर फर्किएकी थिइन्।

मृतकका पिता पवन ठाकुरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले भनेका छन्, तुलसीमाथि उनका पति मात्र नभई सासु–ससुराले पनि निरन्तर यातना दिने गरेका थिए।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com