काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसँग नेपालस्थित बेलायतका राजदूत रब फेनबिचले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारमा भएको भेटमा राजदूत फेनबिचले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटमा नेपाल–बेलायतबीचको मित्रता र सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधारमा लगानीको सम्भावना, जलवायु परिवर्तनका असर र त्यसका समाधानका उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री घिसिङले जेन–जि आन्दोलनपछि बनेको सरकारले पुनर्निर्माण, आम निर्वाचन र सुशासनलाई प्रमुख प्राथमिकता बनाएको जानकारी दिँदै, नेपालको पुरानो मित्र बेलायतले आर्थिक विकासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले विद्युतीय सवारी साधनको प्रयोग विस्तारका लागि चार्जिङ स्टेसन स्थापना गर्न बेलायतले गरेको सहयोगलाई प्रभावकारी भएको बताए।
यस्तै, उनले बेलायतमा सफल मानिएको सार्वजनिक–निजी साझेदारी मोडेललाई नेपालमा पनि अपनाउन सकिने उल्लेख गर्दै, ग्रिन हाइड्रोजन प्रवर्द्धन, जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययनलगायत क्षेत्रमा सहकार्यको आवश्यकता औंल्याए।
राजदूत फेनबिचले नेपाल–बेलायतबीचको ऐतिहासिक मित्रताको स्मरण गर्दै नेपालको सफलता बेलायतकै सफलता भएको बताए। साथै उनले नेपालको आर्थिक रूपान्तरणमा बेलायत निरन्तर सहायक हुने प्रतिवद्धता व्यक्त गरे।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया