विराटनगर । पैसाको विवादमा विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन्।
सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजु रागिनी देवी साहमाथि एसिड प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छिन्। रागिनी अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत छिन् र स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
पारिवारिक स्रोतका अनुसार घटनाको मुख्य कारण पैसाको लेनदेन थियो। पीडितका श्रीमान् सन्तोष साहका अनुसार, भाइ श्रवणले भाउजूसँग ३ हजार रुपैयाँ मागेका थिए। रागिनीले आफ्नो तर्फको २ हजार रुपैयाँ त दिएका थिए, तर बाँकी १ हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो। घटना हुनुभन्दा केही समयअघि नै श्रवणले सन्तोषलाई ज्यान मार्ने धम्की दिएका थिए।
घटना भएको बेला सन्तोष आफ्नो घर नजिकैको भाँडाकुँडा पसलमा थिए। रागिनीले फोनमार्फत रुँदै भाइले आक्रमण गरेको र तत्काल घर आउन आग्रह गरेकी थिइन्।
एसिड प्रहारपछि श्रवण साह फरार छन्। मोरङ प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै उनको खोजी कार्य तीव्र पारेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया