काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम समितिले सभापति रवि लामिछानेलाई पार्टीको पदीय जिम्मेवारीबाट बाहिरिन सुझाव दिएको छ। समितिले सभापतिले उदारता देखाउँदै पार्टी जिम्मेवारीबाट अस्थायी रूपमा अलग भई वैकल्पिक धार, समूह र व्यक्तिलाई पार्टीमा समेट्न आह्वान गर्नुपर्ने दाबी गरेको छ।
सुदूरपश्चिम समितिको बैठकले तयार पारेको पत्रमा भनिएको छ, ‘न्यायिक निकायबाट सफाई नपाउन्जेलसम्म सभापति पार्टी जिम्मेवारीबाट अलग भई सर्वोच्चता कायम गर्ने, न्यायिक प्रक्रिया पछि निर्विकल्प सभापति देखिने विश्वास व्यक्त गर्दछौं।’
जेन–जि विद्रोहको दोस्रो दिन (भदौ २४) नख्खु कारागारबाट बाहिरिँदा सभापति रवि विरुद्ध हस्ताक्षर गर्ने ४० लाख समर्थक ठेस पुगेको प्रदेश समितिले ठहर गरेको छ। रास्वपाले असार ७ देखि देशभित्र तथा विदेशमा हस्ताक्षर संकलन गर्दै आएका थिए।
समितिको निष्कर्ष अनुसार सभापति रविलाई कारागारबाट निकाल्ने निर्णयमा सहभागी केही नेताहरूको अपरिपक्व र हतारमा गरिएको कदमले पार्टीको साख र ४० लाख समर्थकको विश्वासमा असर पुगेको छ। उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा र केन्द्रीय सदस्यहरू गणेश पराजुली, ज्वाला संग्रौला त्यस दिन कारागार पुगेका थिए।
पत्रमा पार्टी सचिवालय पुनर्गठन गर्नुपर्ने, नेतृत्वका कमीकमजोरी समेट्नुपर्ने, केन्द्रको निरंकुशता अन्त्य गर्ने र व्यक्तिपूजा प्रवृत्ति समाप्त गर्नुपर्ने सुझाइएको छ। पूर्व सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा पार्टीका लागि दुःखद भएको र यसले नेतृत्वको कमजोरी देखाएको उल्लेख गरिएको छ।
सुदूरपश्चिम समितिले केन्द्रलाई पठाएको पत्रमा पार्टी पुनर्संरचना, प्रदेश समितिलाई स्वायत्तता दिनु, संगठन सुधारका लागि कमजोरी स्विकार्नुपर्ने र व्यक्तिलाई केन्द्रमा राख्ने चलन समाप्त गर्नुपर्ने माग पनि राखिएको छ।
समितिको निष्कर्ष अनुसार, वर्तमान नेतृत्वको अपरिपक्व निर्णयले पार्टी पंक्तिलाई निस्क्रिय बनाएको र लोकतान्त्रिक दलको नाममा निरंकुशताको प्रभुत्व बढेको आरोप लगाइएको छ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया