काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते तय भएको निर्वाचनमा सबै नागरिकलाई सहभागी हुने सुनिश्चित वातावरण बनाउनु सरकारको पहिलो दायित्व भएको स्पष्ट पारेका छन्।
मंगलबार हेम–सुनील जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार दृढप्रतिबद्ध रहेको बताए। उनका अनुसार, निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै व्यवस्था मिलाउन सरकारले ढिलाइ नगर्नेछ।
उनले भने, ‘फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक पर्ने वातावरण सरकार तयार गर्छ। सबै नागरिकलाई चुनावमा भाग लिन सक्ने अवस्था बनाउनु सरकारको दायित्व हो, र यसलाई सरकारले अर्जुनदृष्टिले अघि बढाएको छ।’
त्यस्तै, मन्त्री खरेलले हालसालैको जेन–जी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहजस्ता मागहरू तुरुन्तै पूरा नहुने भए पनि जनताले अनुभूति गर्ने गरी सरकार काम गर्न कटिबद्ध रहेको बताए। उनका अनुसार, सरकारको मुख्य प्राथमिकता सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्ने नै हो।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया