काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पाँच प्रदेश सभापतिहरूले पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा कुनै वैकल्पिक सोच नभएको प्रष्ट पारेका छन्।

केन्द्रीय समिति बैठकपछि संयुक्त रूपमा धारणा सार्वजनिक गर्दै उनीहरूले लामिछानेमाथि उठेका प्रश्नहरू बेबुनियादी रहेको बताए।

advertisement

बागमती प्रदेश सभापति अच्युतम लामिछानेले केही मिडियामा आएको समाचार असत्य रहेको दाबी गर्दै भने, ‘प्रदेशका अधिकांश साथीहरूले सभापतिको नेतृत्वमाथि प्रश्न उठाएको भनेर हेडलाइन बनाइएको रहेछ। त्यसको खण्डन गर्न हामी पाँच प्रदेशका सभापति यहाँ छौँ। गण्डकीका सभापति पहिरोका कारण आउन सक्नुभएन भने कर्णालीका इन्चार्जले आफ्ना विचार पठाउनुभएको छ। तर, सभापतिको वैकल्पिक नेतृत्वबारे सोच्ने स्थिति हामीमा छैन।’

उनले २००३ सालमा स्थापना भएको नेपाली कांग्रेस र २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीहरूमा नेतृत्व परिवर्तनको संस्कार चलिआएको उल्लेख गर्दै, रास्वपामा त्यस्तो प्रवृत्ति प्रवेश नै गर्न नसक्ने बताए। ‘सरकारमा पटक–पटक पुगेर जेन–जी आन्दोलनबाट अस्वीकार भएका दलहरूमा मात्र नेतृत्व परिवर्तनको हावा चल्छ। त्यो हावाले रास्वपामा प्रवेश पाउने प्रश्नै उठ्दैन,’ उनले जोड दिए।

लुम्बिनी प्रदेश सभापति देवराज पाठकले रास्वपा खुला बहस गर्ने संस्कार भएको पार्टी भए पनि सभापति लामिछानेको विकल्पबारे कुनै छलफल नै नभएको बताए। ‘हामीले पार्टी सभापतिको विकल्प खोजेको छैनौँ, सोचेका पनि छैनौँ। कुनै पनि प्रदेश सभापतिले त्यो कुरा उठाएको छैन। लुम्बिनीले त बैठक गरेर के बोल्ने भनेर माइन्युटसहित तयारीसहित आएका थियौँ,’ उनले प्रष्ट पारे।

मधेस प्रदेश सभापति तपेश्वर यादवले रास्वपा भ्रष्टाचारविरुद्ध जन्मिएको पार्टी भएको उल्लेख गर्दै, ठूला दलको असफलताप्रति जनताको वैकल्पिक विश्वास बनेको पार्टीमाथि ‘चरित्र हत्या’ गर्ने गरी भ्रम फैलाइएको आरोप लगाए।

बैठकमा लुम्बिनी प्रदेशले पार्टी संरचना केन्द्रदेखि वडा समिति सम्म पुनर्गठन गर्दै निर्वाचन तयारीमा लाग्ने निर्णय गरेको जानकारी पनि दिइयो। सुदूरपश्चिम प्रदेशले पनि पुनर्गठनलाई प्राथमिकतामा राखेको बैठकमा प्रस्तुत गरेको छ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com