काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ। बैठकका एजेन्डा तय गर्न आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने तयारी भएको पार्टीका मुख्यसचिव गणेशमान पुनले जानकारी दिएका छन्।
उनका अनुसार स्थायी कमिटीको बैठकले भोलिको केन्द्रीय कमिटी बैठकका विषयवस्तु टुंग्याउनेछ।
आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्तावसहित पार्टीका सबै कमिटी भंग गर्ने विषय अघि सारेका थिए। उक्त प्रस्तावबारे अन्तिम निर्णय भोलिको केन्द्रीय कमिटी बैठकले गर्नेछ।
यसअघि बैठकमा सहभागी केन्द्रीय सदस्यहरूबाट प्रवेश शुल्क लिनेबारे पनि छलफल भएको छ। मुख्यसचिव पुनका अनुसार प्रति सदस्य एक हजार रुपैयाँ प्रवेश शुल्क लिने प्रस्ताव गरिएको छ, जसलाई आजको स्थायी कमिटी बैठकले टुंग्याउनेछ।
भोलिको बैठकमा केन्द्रीय सदस्य, आयोग सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि तथा प्रदेश पदाधिकारीलाई सहभागी हुन आह्वान गरिएको छ। हाल माओवादी केन्द्रमा ४५० भन्दा बढी केन्द्रीय सदस्य रहेका छन्।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया