काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच बुधबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा राजदूत सोङले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
छलफलमा नेपाल–चीन सडक तथा विद्युत प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ ठेकेदारद्वारा निर्माण भइरहेका सडक तथा विद्युत् आयोजनाको प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ अनुदानमा सञ्चालन भइरहेका आयोजनाको कार्यान्वयन र चिनियाँ लगानीका विषयमा व्यापक विचार-विमर्श भएको छ।
मन्त्री घिसिङले काठमाडौं–कोदारी (अरनिको) र स्याप्रुबेंसी–रसुवागढी सडकलाई नेपाल–चीन यातायातको लागि महत्वपूर्ण तथा संवेदनशील भएकाले पहिरो र कमजोर भूगोलको कारण जोखिमयुक्त भएको भन्दै चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत र स्थायी सञ्चालनका लागि सहयोगको अनुरोध गरेका छन्।
त्यसैगरी उनले काठमाडौं उपत्यका चक्रपथ विस्तार अन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुन लागेको कलङ्की–बसुन्धरा खण्डको काम छिटो सुरु गर्न, अरुण नदी करिडोरमा निर्माणाधीन जलविद्युत आयोजना अगाडि बढाउन र किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहकार्य गर्न आग्रह गरेका छन्।
मन्त्री घिसिङले कमला–कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको, नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक विस्तारको कामलाई छिटो अगाडि बढाउन पनि राजदूत सोङसँग पहल गर्न अनुरोध गरेका थिए।
यसै अवसरमा राजदूत सोङले नेपालका प्राथमिकताका क्षेत्रमा चीन सँधै सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।
भेटवार्तामा मन्त्रालयका सचिव केशव कुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी र परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतले सहभागिता जनाएका थिए।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया