काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच सोमबार शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी र त्यसका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल भएको हो।

advertisement

भेटमा राष्ट्रपति पौडेलले निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी ढङ्गले सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए। उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन निर्वाचनलाई कुनै पनि बहानामा ढिलो गर्न नहुने धारणा राखेका थिए।

प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार निर्वाचन सम्पन्न गर्न पूर्णतः प्रतिबद्ध रहेको बताइन्। उनले सरकार मतदाता, उम्मेदवार र सम्पूर्ण निर्वाचन प्रक्रियाको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर तयारी अघि बढाइरहेको जानकारी गराइन्।

भेटमा हालको सुरक्षा मूल्याङ्कन, विभिन्न जिल्लामा देखिएका चुनौति, सुरक्षा संयन्त्रबीचको समन्वय र निर्वाचन आयोगसँग सरकारको सहकार्यका विषयमा पनि विचार विमर्श भएको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमार्फत निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई आवश्यक निर्देशन दिइसकेको उल्लेख गर्दै सरकार संवेदनशील जिल्लामा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताइन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको छलफललाई आगामी निर्वाचनका सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com