काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले केही सञ्चारकर्मी र युट्युबरहरूलाई मुलुकमा अस्थिरता ल्याउने प्रयासमा संलग्न भएको आरोप लगाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै बस्नेतले News24 का राजिव खत्री, वीरेन्द्र जैरु, जनआस्थाका किशोर श्रेष्ठलगायतका नाम उल्लेख गर्दै उनीहरू पत्रकारिताको नाममा ‘घृणा र दरिद्रता बेच्ने पात्र’ भएको दाबी गरेका छन्।
उनले यी व्यक्तिहरूले जेन–जि आन्दोलनलाई उचालेर हिंसा भड्काउने तथा देशमा अशान्ति फैलाउने कार्यमा ठूलो भूमिका खेलेको आरोप लगाए। बस्नेतले लेखेका छन्, ‘अरूमाथि न्यायाधीशजस्तो व्यवहार गर्दै आरोप लगाउने यी पात्रहरू नै देश ध्वंस गराउन उकास्ने गम्भीर आरोपी हुन्।’
बस्नेतले भाग्य न्यौपाने, शाक्य, खड्का लगायतका युट्युबर र सूत्र टिभी, सिधा कुरा जस्ता सञ्चारमाध्यमलाई समेत ‘उनीहरूको पुच्छर’ भनेका छन्।
उनले कानुनी प्रक्रियाबाट समयमै सबैलाई जवाफदेही बनाउनुपर्ने बताउँदै एक नेपाली भनाइ उद्धृत गरेका छन्, ‘पानीमा रहँदा माछाले किरा खान्छ, पानी सुकेपछि किराले माछा खान्छ।’
बस्नेतले अन्ततः सबैलाई कानुनी उपचारको दायरामा ल्याइने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया