काठमाडौं । भारतको लद्दाखमा स्वायत्त राज्यको मागसहित सुरु भएको आन्दोलन हिंसात्मक बनेको छ । आन्दोलनमा सहभागी युवाहरू र प्रहरीबीच भएको झडपमा कम्तीमा चार जनाको ज्यान गएको र ७० भन्दा बढी घाइते भएको इन्डिया टुडेले जनाएको छ।

बुधबार भएको घटनापछि आक्रोशित प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्। उनीहरूले लेहस्थित भारतीय जनता पार्टी (भाजपा) कार्यालयमा आगजनी गर्नुका साथै एक गाडीसमेत जलाइदिएका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो।

advertisement

हिंसा चर्किएपछि जम्मू–कश्मीरकी पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारले असन्तोषको मूल कारण बुझ्नुपर्ने बताइन्। उनले सामाजिक सञ्जालमा लेख्दै, ‘सन् २०१९ पछि वास्तवमा के परिवर्तन भयो भन्नेबारे भारत सरकारले इमानदारीपूर्वक मूल्यांकन गर्नुपर्छ,’ भनिन्।

सन् २०१९ मा भारतीय सरकारले जम्मु–कश्मीरको विशेष अधिकार खारेज गरी त्यसलाई दुईवटा केन्द्रशासित प्रदेशमा विभाजन गरेको थियो। त्यसअन्तर्गत लद्दाखलाई छुट्टै केन्द्रशासित प्रदेश बनाइए पनि विधानसभा नदिई दिल्लीबाट शासन सञ्चालन गर्न थालेपछि त्यहाँका स्थानीयमा असन्तोष बढ्दै आएको छ।

स्थानीय बासिन्दाले लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने र भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग गर्दै आएका छन्। उक्त अनुसूचीअन्तर्गत परेमा आदिवासी र स्थानीय समुदायलाई भूमि, रोजगारी, भाषा र संस्कृतिमा विशेष अधिकार प्राप्त हुने व्यवस्था छ।

लद्दाखलाई छैटौँ अनुसूचीमा समावेश नगरिए स्थानीय भूमि, रोजगारी र संस्कृतिमा बाह्य जनसंख्या र पूँजीको दबाब बढ्ने खतरा रहेको उनीहरूको तर्क छ। पटक–पटक आन्दोलन र प्रदर्शन भए पनि केन्द्र सरकारले भने माग सम्बोधन नगरेको स्थानीयहरूले गुनासो गर्दै आएका छन्।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com