चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु भएको छ।

ठूलो पानी परेका कारण हिजो साँझ ६ बजेपछि पहिरो पन्छाउने काम रोकिएको थियो। मंगलबार दिउँसो तुइन खोला पुल नजिकै खसेको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ। पहिरो पन्छाउन कति समय लाग्छ भन्ने यकिन नभएकाले वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज दिनभरमा पनि बाटो पन्छाउन नसकिने बताएका छन्। अर्यालका अनुसार आज पानी परेन भने भोलि रातिसम्म पहिरो पन्छाएर शनिबार बिहानसम्म यातायात सञ्चालन गर्न सकिने बताए।

advertisement

मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ। यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ। मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ।

त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ। मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ।

गत शुक्रबार साँझ पहिरो खस्दा करिब ४६ घण्टा यो सडक बन्द भएको थियो। सडक बन्द हुँदा सबैभन्दा बढी दशैंको बेला घर जाने हजारौं यात्रु मारमा परेका छन्।

यसैबीच हिजो साँझ पहिरो झरेर अवरुद्ध भएको पृथ्वी राजमार्गको धादिङ खण्ड बिहान ३ बजेदेखि सञ्चालनमा आएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा साँझ पुनः पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। यता हिजो साँझ परेको भारी वर्षापछिपहिरो झर्दा अवरुद्ध धार्के सितापाइला सडक अझै सञ्चालनमा आएको छैन।

काठमाडौं प्रवेश गर्ने वैकल्पिक सडकको रुपमा प्रयोग भइरहेको धार्के(सितापाइला सडकको ठुलो खोला नजिकै हिजो राति ८ बजे झरेको पहिरो अझै पन्छाइएको छैन।

 

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com