काठमाडौं ।  घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौं छाडेका हुन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो ।

advertisement

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए । ‘मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौंमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,’, अध्यक्ष स्वरले भने ।

काठमाडौं गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमासमेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए ।

उनले अरु समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए । यात्रुको सहजताका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com