काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीले तत्काल कार्यवाहक सभापति तोकेर अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्नुपर्ने सुझाव दिएका छन् ।
उनले पार्टी विधानअनुसार सभापति शेरबहादुर देउवा स्वास्थ्य कारणले अस्पतालमा भर्ना भएकाले जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिनुपर्ने बताए । ‘सभापति देउवा अस्पतालमा हुनुहुन्छ । विधानले व्यवस्था गरेको कार्यवाहकको जिम्मेवारी उपसभापति खड्कालाई दिनुपर्छ, र पार्टी निर्वाचनमा केन्द्रित हुनुपर्छ,’ निधिले भने ।
उनका अनुसार, कार्यवाहक सभापतिको नेतृत्वमा पार्टीले एकता कायम गर्दै बृहत् ढंगले निर्वाचनमा होमिन सक्नेछ ।
निधिले मुलुक संवेदनशील अवस्थामा रहेकोले कांग्रेसले विशेष महाधिवेशन जस्ता विवादास्पद कदम चाल्नु उपयुक्त नहुने स्पष्ट पारे । ‘यस्तो बेला हस्ताक्षर सङ्कलन गरेर विशेष महाधिवेशन गर्न खोज्नुले पार्टीलाई विभाजित मात्र बनाउँछ, एकताबद्ध राख्दैन,’ उनले टिप्पणी गरे ।
त्यसैगरी, प्रतिनिधिसभा पुनःस्थापनाको माग अहिले व्यावहारिक नहुने उनको धारणा छ । निधि भन्छन्, ‘विघटनअघि कांग्रेस–एमाले नेतृत्वको सरकार जनपक्षीय काम गर्न असफल थियो । त्यसैले अब नयाँ जनादेशमा जानुपर्छ । पार्टी एकताबद्ध भएर चुनावमा लाग्नै पर्छ ।’
हाल कांग्रेसभित्र महामन्त्री गगन थापा समूह विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलनमा जुटिरहेको छ भने संस्थापन पक्ष त्यसको विपक्षमा छ । यस्तो परिस्थितिमा निधिले कार्यवाहक सभापति तोकी चुनावी तयारीमै केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया