काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन देशी र विदेशी शक्तिहरूको प्रभावमा परेर हाइज्याक भएको आरोप लगाएका छन् ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै थापाले युवाहरूको आन्दोलन मूलतः भ्रष्टाचार र कुशासनविरुद्ध सुरु भए पनि बाह्य हस्तक्षेपका कारण यसको दिशा परिवर्तन भएको दाबी गरे । उनका अनुसार, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति नै आन्दोलन कब्जा भएको प्रमाण हो । ‘प्रचण्डले व्यवस्था जोगाएँ भन्नुभयो । यसले आन्दोलनलाई बाह्य शक्तिको सहयोगमा हाइज्याक गरिएको देखाउँछ,’ उनले भने ।
थापाले जेन–जी पुस्ताको आन्दोलन संविधान वा व्यवस्थाको संरक्षणका लागि नभई परिवर्तनको खोजीमा भएको बताए । ‘युवाहरूले भ्रष्टाचार अन्त्यको कुरा गरे तर यही संरचनामा बसेर भ्रष्टाचार र कुशासन अन्त्य हुन्छ भन्ने विश्वास गर्न सकिँदैन,’ उनले टिप्पणी गरे ।
उनले हालको निर्वाचन प्रणाली यथावत रहे आन्दोलनको उद्देश्य अधुरो हुने दाबी गरे । ‘यही प्रणालीबाट चुनाव हुँदा पुराना दलहरूकै निरन्तरता हुन्छ । नयाँ दल आए पनि पुरानैसँग गठबन्धन नगरी अघि बढ्न सक्दैनन् । अहिले बालेनले पार्टी खोल्छन् भन्ने हल्ला छ, तर अन्ततः कांग्रेस–एमालेसँग मिल्नुपर्ने हुन्छ । त्यसको के अर्थ रह्यो ?’ थापाले प्रश्न गरे ।
उनले भ्रष्टाचारको मूल कारणकै रूपमा संविधान र विद्यमान संरचनालाई चिनाए । ‘अहिलेकै राज्य व्यवस्था, निर्वाचन प्रणाली र संवैधानिक आयोग कायम राखेर चुनाव गर्दा जनतालाई फेरि धोका मात्रै हुनेछ । यसले देशलाई अझै संकटतिर धकेल्छ,’ उनले चेतावनी दिए ।
थापाले संवैधानिक निकायहरूमा भइरहेको राजनीतिक नियुक्तिलाई पनि गम्भीर समस्या बताए । ‘यही नियुक्ति भ्रष्टाचारको प्रमुख आधार बनेको छ । व्यवस्था परिवर्तन नगरेसम्म भोलि जोसुकै पार्टी सत्तामा पुगे पनि आफ्ना कार्यकर्तामै पद बाँड्ने काम रोकिँदैन,’ उनले जोड दिए ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया