काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन कायम गर्न सरकारले दृढतापूर्वक कदम चाल्ने दाबी गरेका छन् । उनका अनुसार, सुशासन र भ्रष्टाचारविरुद्ध लड्न आवश्यक सबै अनुसन्धान निकाय सक्रिय भइसकेका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका सरकारहरू सुशासनमा असफल भएकै कारण पदच्युत हुनुपरेको उदाहरण दिए ।

advertisement

‘प्रधानमन्त्रीज्यूले स्पष्ट भन्नु भएको छ– सुशासन र भ्रष्टाचारविरुद्ध यो सरकारले खुट्टा टेकेर अघि बढ्छ । यदि त्यो हुन सकेन भने पाँच वर्षको म्यान्डेट पाएर पनि सरकार बीचैमा ढल्न सक्छ,’ गृहमन्त्री अर्यालले भने ।

उनले सुशासनमा कमजोर हुँदा नै केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको उल्लेख गर्दै वर्तमान सरकारले पाएको म्यान्डेट– सुशासन कायम गर्नु र निर्वाचन सम्पन्न गर्नु– पूरा नगरे जनता पुनः आक्रोशित हुने चेतावनी पनि दिए ।

जेनजी आन्दोलनका क्रममा भएको दमनबारे जाँचबुझ आयोग गठन भइसकेको जनाउँदै गृहमन्त्री अर्यालले छानबिन तथ्य र प्रमाणका आधारमै अघि बढ्ने बताए । गोली चलाउन आदेश दिने वा प्रत्यक्ष संलग्न जो–कोहीमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘कतिपय विषय तत्कालै अघि बढ्छन्, कतिपय भने आयोगले फ्याक्ट–फाइन्डिङ गरेरमात्र टुंगो लाग्छ ।’

त्यस्तै, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित केही शीर्ष नेताको पासपोर्ट रोक्का गर्ने विषयमा प्रश्न सोधिँदा गृहमन्त्री अर्यालले भने, ‘अनुसन्धान गर्ने निकायले आवश्यक ठानेका सबै कदम चाल्छ । पासपोर्ट रोक्का मात्रै होइन, आवश्यक परे पक्राउ र बयान समेत लिनुपर्ने हुन्छ ।’

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com