काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले जेनजी आन्दोलनलाई दृढ समर्थन गर्दै यसलाई युवाहरूको स्वतःस्फूर्त विद्रोहका रूपमा लिने आग्रह गरेका छन् ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै गजुरेलले आन्दोलन विकृति र विसंगतिको विरुद्ध उठेको जनशक्ति भएको बताए । तर उनले विदेशी वा प्रतिक्रियावादी शक्तिले यसलाई आफ्नो पक्षमा प्रयोग गर्न नदिन सतर्क रहनुपर्ने आवश्यकता पनि औंल्याए ।

advertisement

उनका अनुसार, ‘हामीले पहिलो दिनदेखि नै आन्दोलनसँग ऐक्यबद्धता जनाउनुपर्ने थियो । पछि भए पनि दमन र नरसंहारको विरोध गर्‍यौं, ओलीको राजीनामा माग्यौं । त्यसैले हामी फरक छौं, हामी आन्दोलनकारी शक्ति हौं ।’

नेतृत्व परिवर्तनबारे उठेका सवालमा गजुरेलले सडकबाट उठेको आवाजले सरकार परिवर्तन गर्न सक्छ तर पार्टी नेतृत्व भने केवल आन्तरिक छलफल र महाधिवेशनबाटै टुंगो लाग्ने स्पष्ट पारे । अध्यक्ष प्रचण्डको बचाउ गर्दै उनले भने, ‘सडकको आन्दोलनले सरकारलाई त हटाउँछ, तर पार्टी नेतृत्व बदल्दैन । त्यो पार्टीभित्रकै प्रश्न हो ।’

उनले विशेष महाधिवेशनलाई आवश्यक ठहर गर्दै यसलाई पार्टीको विचार र कार्यदिशा अद्यावधिक गर्ने अवसरका रूपमा लिनुपर्ने सुझाव दिए । गजुरेलका अनुसार नेतृत्व उमेरका आधारमा होइन, विचार र क्रान्तिकारी योजनाका आधारमा छनोट हुनुपर्छ ।

‘पार्टी अहिले सिद्धान्तविहीन र उपयोगितावादी शैलीमा चलेको छ, यसलाई सुधार्नै पर्छ,’ उनले जोड दिँदै भने, ‘जेनजी आन्दोलनले दिएको सन्देश आत्मसात् गरेर नयाँ पुस्तालाई पार्टीभित्र प्रतिनिधित्व दिनुपर्छ ।’

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com