काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा बारम्बार पहिरो खस्दा सडकयात्रा अवरुद्ध भएपछि हवाई यात्रामा यात्रुको चाप तीव्र बढेको छ।

भरतपुर विमानस्थलमा सामान्यतया दैनिक सात उडान भइरहेकामा हाल यात्रुको बढ्दो मागका कारण उडान संख्या १० पुगेको छ। बुद्ध एयरले काठमाडौँ–भरतपुर र भरतपुर–पोखरा मार्गमा अतिरिक्त उडान थपेको हो।

advertisement

बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक ३००–३५० यात्रु आवतजावत गर्ने गरे पनि अहिले यो संख्या बढेर करिब ४६० पुगेको छ। उनले भने, “चाडपर्वमा चाप बढ्ने गर्छ तर यसपटक सडकमार्ग जोखिमपूर्ण भएकाले यात्रु हवाई मार्ग रोजिरहेका छन्।”

उनका अनुसार अघिल्लो वर्षमा भन्दा फरक ढंगले अहिले काठमाडौँ जाने र त्यहाँबाट फर्कने दुवै तर्फ यात्रुको संख्या समान रूपमा बढेको छ। बिहान ८ बजेबाट अपराह्न ३ः३५ बजेसम्म नौ उडान काठमाडौँ र एक उडान पोखरा मार्गमा सञ्चालन भइरहेको छ।

तर, मागअनुसार थप उडान गर्न एयर ट्राफिक र धावनमार्ग छोटो हुनु मुख्य चुनौती बनेको बस्नेतले बताए। रात्रिकालीन उडान सुविधा नहुँदा यात्रुले सीमित समयमा मात्र टिकट पाउने बाध्यता रहेको छ।

विमानस्थल प्रमुख दीपक बिकका अनुसार सडकमा पहिरो र चाडपर्व नजिकिँदै जाँदा हवाई यात्रु संख्या असाधारण रूपमा बढेको छ। भरतपुरमार्ग हुँदै चितवन, मकवानपुर र नवलपरासीका यात्रु पनि बढी संख्यामा आउने–जाने गरेका छन्।

हाल भरतपुर विमानस्थलमा बुद्ध एयर एक्लै नियमित उडान सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com