काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा समूहगत निष्कर्ष प्रस्तुत गर्ने प्रक्रिया सुरु भएको छ। पहिलो प्रस्तुतीकरण उपत्यका विशेष प्रदेशबाट भएको हो। यस समूहका नेता जगत सिंखडाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित भएको रिपोर्टिङ गरेका छन्।

बैठकमा समय व्यवस्थापनअनुसार प्रत्येक प्रदेशले आफ्नो निष्कर्ष राखेपछि एक जना पदाधिकारीले धारणा राख्ने क्रम बनाइएको छ। त्यसैअनुसार कोशी प्रदेशतर्फबाट उपमहासचिव हरिबोल गजुरेलले नेतृत्वको निरन्तरताको आवश्यकता औंल्याउँदै धारणा प्रस्तुत गरे। हाल लुम्बिनी प्रदेशको समूहगत निष्कर्ष प्रस्तुत भइरहेको छ।

advertisement

बिहीबार काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले आ–आफ्ना प्रस्तावसहितका कागजात प्रस्तुत गरेका थिए।

अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्ने र आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। तर, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने प्रतिनिधि सभाको चुनाव (फागुन २१) पछि मात्र महाधिवेशन गर्न उपयुक्त हुने धारणा राखेका छन्। साथै उनले नेतृत्व हस्तान्तरणको प्रसंग उठाउँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूले पाउनुपर्ने प्रस्तावसमेत गरेका छन्।

उपमहासचिव शर्माले भने सबै पदाधिकारी पद नपाउने गरी नयाँ टिम ल्याउनुपर्ने र हालका पदाधिकारीलाई निर्देशक समितिमा रुपान्तरण गर्ने सुझाव दिएका छन्।

तीनै प्रस्तावमाथि प्रदेशगत छलफल जारी छ। समूहगत निष्कर्षहरू संकलन भएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र अन्ततः प्रतिवेदन पारित गर्दै बैठक समापन गर्ने तयारी गरिएको माओवादी स्रोतले जनाएको छ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com