काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्र पुनर्गठन र रूपान्तरणको नाममा अनावश्यक हल्ला मच्चाइनु गलत रहेको टिप्पणी गरेका छन्। उनले यस्तो गतिविधि “सार्वजनिक खपतका लागि गरिएको रोइलो” मात्र भएको दाबी गरे।
उनको भनाइ पार्टी सचिव योगेश भट्टराईले एमाले पुनर्गठन आवश्यक रहेको धारणा राखेको भोलिपल्ट आएको हो। भट्टराईको अभिव्यक्तिपछि पार्टीभित्र पुस्तान्तरण र संरचनागत रूपान्तरणबारे बहस चुलिएको छ।
जेन–जी आन्दोलनपछि एमालेमा पनि नेतृत्व र नयाँ पुस्ताको भूमिकाबारे छलफल बढेको छ। यसबीच अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बस्दै राजनीतिक भेटघाटमा सक्रिय रहेका छन्। यही सन्दर्भलाई लिएर केही नेताहरूले रूपान्तरणको आवश्यकता औंल्याएका छन्।
तर, थापाले जेन–जी आन्दोलनको नाममा भएको हिंसा, आगजनी र अस्थिरतालाई अनुकरणीय मान्न नसकिने स्पष्ट पारे। उनले पार्टीभित्रको परिवर्तन बहसलाई सकारात्मक दिशामा लैजान सुझाव दिँदै, बाह्य प्रभावका नाममा भ्रम सिर्जना नगर्न चेतावनी दिएका छन्।
अध्यक्ष ओलीले पनि पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकर्तालाई सचेत रहन आह्वान गरेका छन्। उनले आफ्नो नेतृत्वविरुद्ध देशी–विदेशी घेराबन्दी भइरहेको र नेपाललाई असफल बनाउने प्रयास भइरहेको दाबी गर्दै, त्यसविरुद्ध दृढ रहन कार्यकर्तालाई अपिल गरेका छन्।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया