काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू काठमाडौंमा घर वा जग्गा नभएको दाबी गरेका छन्। बिहीबार कांग्रेस सुर्खेतको जलेको कार्यालय बाहिर पत्रकार सम्मेलन गर्दै उनले जनजी आन्दोलनको क्रममा काठमाडौं र सुर्खेत दुवै स्थानमा रहेका घरमा आगजनी भएपछि आफ्नो अवस्थाबारे समाजमा फैलिएको धारणाप्रति गुनासो गरेका हुन्।
खड्काले काठमाडौंमा आफू बस्दै आएको घर आफ्ना भाइ डम्बरबहादुर खड्का र उनकी पत्नी डा. सन्जुको नाममा रहेको स्पष्ट पारे। उनका अनुसार ससुरालीले डा. सन्जुको लागि बनाइदिएको घरमै आफू पनि बस्दै आएका थिए। तर गत भदौ २४ गते प्रदर्शनकारीले त्यस घरमा आगजनी गरेका थिए।
‘काठमाडौंमा मेरो एउटा पनि जमिन छैन भन्ने कुरा अहिले को पत्याउँछ? भाइको ससुरालीले बनाइदिएको घरमा म बसेको थिएँ, त्यो पनि जलाइयो,’ भावुक हुँदै खड्काले भने।
डा. सन्जु खड्काको २०८० जेठमा बाँकेको राप्तीसोनारीमा कार दुर्घटनामा मृत्यु भएको थियो। त्यसपछि पनि उक्त घरलाई परिवारले उनको ‘सपनाको मन्दिर’का रूपमा जतन गर्दै आएको खड्काले स्मरण गरे।
त्यसैगरी खड्काले सुर्खेतमा रहेको आफ्नो पुर्ख्यौली घरसमेत आन्दोलनका क्रममा आगजनीमा परेको उल्लेख गरे। ‘४० वर्षअघि आमाले बनाएको घरलाई हामीले संग्रहालयजस्तै संरक्षण गरेका थियौं। बुबा-आमाका कपडादेखि पुराना दराज र सामग्री जस्ताको तस्तै राखेका थियौं। त्यो ऐतिहासिक घर नै जलाइयो,’ उनले बताए।
खड्काले बाबुले बनाएको दुई कोठे घरलाई पछि भाइ विष्णुले चार कोठे बनाएर विस्तार गरेको उल्लेख गर्दै आफूले पनि त्यतिबेला ४ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए। तर त्यो घरसमेत जलाइएको उनले दुःख व्यक्त गरे।
गाडीको प्रसंग जोड्दै खड्काले जीवनमा कहिल्यै विलासी सम्पत्ति नजोतेको दाबी गरे। ‘मैले एक पटक सुविधा मिलाउने भनेर गाडी किनेको थिएँ। तर दुई-तीन वर्षमै ऋण लागेर बेच्नु परेको थियो। पछि कतै जान ट्याक्सी चढ्थेँ। अहिले भाइ विष्णुले आफ्नो कमाइले किनेर दिएको गाडी चढिरहेको छु,’ उनले भने।
उनका अनुसार सुर्खेतमा उनका भाइहरूले ५० वर्षको मेहनतले सिर्जना गरेका करोडौं मूल्यको सम्पत्ति एकैपटक नष्ट भएको छ।
बाल्यकाल सम्झिँदै उनले थपे, ‘एउटा न्यारेटिभ बनाइएको छ, चप्पल लगाएर काठमाडौं आएका नेता अहिले सम्पत्ति जोडे भनेर। तर म भिक मागेर वा ऋण गरेर आएको होइन। बाबुले म पाँच कक्षामा पढ्दै गर्दा नै सुट लगाएर काठमाडौं पढ्न पठाएका थिए।’
पत्रकार सम्मेलनमा खड्काले सम्पत्तिसम्बन्धी गलत धारणा फैलाउने प्रवृत्तिले आफूलाई निराश बनाएको बताउँदै आफ्नो वास्तविकताबारे समाजले बुझिदिन आग्रह गरेका थिए।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया