काठमाडैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालस्थित युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोबीच शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा राजदूत लोरेन्जोले मन्त्री पदभार ग्रहण गरेकोमा घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। उनले नेपालको ऊर्जा क्षेत्रमा युरोपेली संघले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि दोहोराइन्।
मन्त्रालयका अनुसार वार्तामा रणनीतिक महत्वका जलाशययुक्त जलविद्युत् आयोजना, हरित ऊर्जा प्रवर्द्धन, ऊर्जा सुरक्षा र दक्षता, प्रसारण तथा वितरण प्रणाली सुधार, नीतिगत तथा कानुनी सुधारलगायत विषयमा विस्तृत छलफल भएको थियो।
मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि बनेको सरकारका प्राथमिकता चुनाव, सुशासन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भए पनि दीर्घकालीन विकासका आयोजना अघि बढाउन ऊर्जा क्षेत्रलाई सबल बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले विशेषगरी ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै यसका लागि वित्तीय स्रोत व्यवस्थापनमा युरोपेली संघको सहयोग आवश्यक पर्ने बताए।
राजदूत लोरेन्जोले नेपालका ऊर्जा परियोजनामा युरोपेली संघ निरन्तर साझेदार रहने आश्वासन दिँदै हरित ऊर्जा तथा दिगो विकासका क्षेत्रमा सहकार्य अझै मजबुत बनाउने प्रतिबद्धता जनाइन्।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया