काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनको अन्तिम समयसम्म पार्टी, आन्दोलन र देशप्रति जिम्मेवारी निर्वाह गर्दै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार राजधानीमा जारी केन्द्रीय समिति बैठकमा नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले आफूले कुनै पनि क्षण जिम्मेवारीबाट पन्छिने सोच नराखेको स्पष्ट पारे । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने भन्दै नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेका थिए ।

advertisement

‘म यति वर्षपछि छोड्छु भनेर जिम्मेवारीबाट उम्किने कुरा सम्भव छैन भन्ने मेरो बुझाइ हो । तर यसको अर्थ मैले अध्यक्षमै बसिरहन खोजेको वा महाधिवेशन गर्न दुराशयपूर्ण सोच ल्याएको भन्ने होइन,’ प्रचण्डले स्पष्ट पार्दै भने, ‘पार्टी सामान्य ढंगले रूपान्तरण हुने अवस्था नदेखिएकाले हजारौँ कार्यकर्ताको विचार र भावनालाई प्रतिनिधि निर्वाचन र महाधिवेशनसम्म ल्याएर केन्द्रित गर्ने उपाय नै सशक्त जनवादी अभ्यास हुन्छ ।’

उपमहासचिव शर्मालाई लक्षित गर्दै उनले पार्टीका निर्णयविपरीत बाहिर अभिव्यक्ति दिने प्रवृत्तिले जनतालाई निराश तुल्याएको र इमानदार कार्यकर्तालाई अलमल्याएको आरोप लगाए । उनका अनुसार, जेनजी आन्दोलनभन्दा अघि नै पदाधिकारीहरूबाट फरक–फरक धारणा सार्वजनिक गर्ने वातावरण सिर्जना भएको थियो ।

प्रचण्डले विशेष महाधिवेशनमा जाने निर्णयलाई अध्यक्ष पदमा टिकिरहने चाहना वा सत्ता लोभको संकेतको रूपमा नबुझ्न आग्रह गरे । उनले भने, ‘यो कदम दुराशयपूर्ण होइन, पार्टीलाई नयाँ धार र जनवादी अभ्यासतर्फ रूपान्तरण गर्ने आवश्यकता भएकाले विशेष महाधिवेशनको प्रस्ताव गरिएको हो ।’

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com