काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मोबाइल हराएपछि केही समय सामाजिक सञ्जालमा देखिएका थिएनन्। तर, नयाँ डिभाइसमार्फत उनी पुनः सक्रिय बनेका छन् र निरन्तर राजनीतिक अभिव्यक्ति दिइरहेका छन्।

सामाजिक सञ्जालमा सक्रियता देखाउँदै मेयर साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन्। जेन–जी आन्दोलनका माग पूरा गर्न सरकारले असफल भएको भन्दै उनले भनेका छन्, सुशीला जी, तपाईंले जेन–जीको मर्मअनुसार काम गर्न सक्नुभएन। राजीनामा दिनुस्। म गर्छु उनीहरूको माग एक–एक गरेर पूरा।

advertisement

साम्पाङले आफू नेतृत्व लिन तयार रहेको र आन्दोलनकारीका मागहरू सम्बोधन गर्न सक्षम भएको दाबी पनि गरेका छन्। साथै, उनले वर्तमान सरकारले भ्रष्टाचार छानबिन गर्ने भनेपछि त्यसको सुरुआत प्रधानमन्त्री र मन्त्रीहरूकै सम्पत्ति छानबिनबाट गर्नुपर्ने धारणा राखेका छन्। बिना स्रोतको सम्पत्ति प्रमाणित भए आफैंलाई हतकडी लगाउने साहस देखाउनुपर्छ, अनि मात्र अरूमाथि कारबाहीको कुरा गर्न मिल्छ, उनले लेखेका छन्।

त्यस्तै, ऊर्जा मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका तत्कालीन निर्देशक हितेन्द्र शाक्यलाई पदमुक्त गरेको निर्णयप्रति साम्पाङले असहमति जनाएका छन्। उनले भनेका छन्, हितेन्द्रलाई निकाल्नुभन्दा देश र जनताका लागि कजाउनुपर्ने थियो। बदला होइन, बदलावतर्फ उभिनुपर्ने बेला हो। कुलमान जीको यो कदम गलत हो।

यता, आफ्नै हराएको मोबाइलबारे पनि उनले टिप्पणी गरेका छन्। मोबाइल खोलेको बित्तिकै प्रयोगकर्तालाई पक्राउ पर्ने चेतावनी दिँदै साम्पाङले मोबाइल तत्काल फिर्ता गर्न अपिल गरेका छन्।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com