काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन र सार्वजनिक गर्ने घोषणा गरेका छन्।
पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेतृत्व तहदेखि पदाधिकारीसम्मले नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए। ‘अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र नयाँ शैलीमा अघि बढ्नुपर्छ,’ उनले भने।
उनका अनुसार संगठनात्मक अभ्यास मात्रै होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक व्यवहारमा पनि रुपान्तरण अपरिहार्य छ। नेताहरूको खानपान, लवाइखवाइदेखि आम नागरिकसँगको व्यवहारसम्म जनमुखी र सरल बनाउनुपर्नेमा उनले जोड दिए। यसका लागि के गर्ने भन्नेबारे लिखित सुझाव पेस गर्न उनले बैठकमा निर्देशनसमेत दिएका छन्।
बैठक सकिएसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण हुने भएको छ। साथै, तोकिएको मितिमा पार्टीको निर्वाचन सम्पन्न गर्न आवश्यक पहल गर्ने निर्णय पनि गरिएको छ।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया