काठमाडौं । चर्चित जेन जी अभियन्ता मिराज ढुंगाना आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरे ।

सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको गृहकार्य हुँदैगर्दा मिराज केन्द्रमा देखिएका थिए । तर, आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईंलाई उनकै निवासमा गएर भेटेपछि उनी विवादित बने । उनले आफू प्रसाईंलाई आन्दोलनमा नआउनु भनेर सम्झाउन गएको प्रष्टीकरण दिएका छन् ।

advertisement

ढुंगाना जेनजी आन्दोलनमा भने सहभागी नै भएनन् । आफू २३ र २४ भदौमा सडकमा ननिस्किएको उनले एक अन्तरवार्तामा बताएका छन् । केही युवाहरुले आफू आएमा विरोध गर्ने भनेर ‘थ्रेट’ दिएकाले नगएको उनको भनाइ छ । त्यस दिन उनी आफ्नै व्यवसायमा व्यस्त रहे । उनले फुलको व्यवसाय गर्छन् ।

आन्दोलनपछि एकाएक सुधन गुरुङ जेनजी लिडर बनेर हाइलाइट भए । सैनिक हेडक्वाटरदेखि शीतल निवाससम्म पुगे । अहिले पनि बालुवाटारदेखि शीतलनिवाससम्म उनको पहुँच छ । तर ढुंगाना भने ओझेलमा परेका थिए । सुधनले जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लाग्दै आएको छ ।

ढुंगाना आन्दोलनमा नदेखिएपछि उनको खोजी भयो । उनले आफूलाई धाकधम्की आएको प्रष्टीकरण दिए । अहिले भने उनी फेरि बाहिर देखिन थालेका छन् । यही सिलसिलामा उनले प्रधानमन्त्री कार्कीसँग भेट्ने अवसर पाएका हुन् ।

मिराजले शुक्रबार प्रधानमन्त्रीसँग भेटेर अनौपचारिक कुराकानी गरेको बालुवाटार स्रोतले बताएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com