काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कुनै पनि आन्दोलन, राजनीतिक दल वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामै निर्भर रहने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
पोखरेलले आफ्नो स्टाटसमार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा असोज १८ र माघ १९ मा चालेका राजनीतिक कदमको प्रसङ्ग स्मरण गर्दै एजेन्डाको स्पष्टताले आन्दोलनलाई दिशा दिन्छ भन्ने धारणा व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य स्पष्ट एजेन्डामा नै टेकेको हुन्छ । असोज १८ मा आलोचना र अस्वीकारको घेरामा परेको नेतृत्व माघ १९ पछि थप सान्दर्भिक बन्यो, किनभने असोज १८ ताका राजनीतिक दलहरू एजेन्डामा विभाजित र अन्योलग्रस्त थिए । तर माघ १९ पछि उनीहरूले आफ्ना एजेन्डा स्पष्ट पार्दै एकताबद्ध भए ।’
महासचिव पोखरेलका अनुसार यही स्पष्ट एजेन्डा र एकताको परिणामस्वरूप देशले लोकतान्त्रिक परिवर्तनको बाटो समातेको र जनताले सार्वभौमसत्ताको अधिकार पुनःस्थापित गर्न सफल भएको हो । उनले जनताको यही सङ्घर्षले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गराएको बताएका छन् ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार












प्रतिक्रिया