काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक स्थिरता र निकासका लागि प्रतिनिधिसभा निर्वाचन अनिवार्य रहेको बताएका छन्।
शनिबार जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको मकवानपुरको पार्टी कार्यालय अवलोकन गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले घाइते अवस्थामा रहेको संविधानलाई स्वस्थ बनाउन फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन समयमै सम्पन्न हुनु आवश्यक रहेको बताए। उनले भने, ‘राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनमार्फतै रिफ्रेस गर्न सकिन्छ। तोकिएको मितिमा निर्वाचन अवश्य सम्पन्न हुनुपर्छ। कांग्रेस निर्वाचन हुने वातावरण बनाउन पूर्ण सहयोग गर्नेछ।’
महामन्त्री शर्माले वर्तमान सरकार असफल भए लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिएका छन्। उनले मन्त्रीपरिषद्मा योग्य व्यक्तिहरू भए पनि जेन–जी युवाको पर्याप्त प्रतिनिधित्व नभएकोमा असन्तुष्टि व्यक्त गरे। साथै, भदौ २३ र २४ गतेका घटनामा संलग्न दोषीमाथि कारबाही गर्नु आवश्यक रहेकोमा जोड दिए।
शर्माले विगतका सकारात्मक कामहरू स्वीकार्दै, नकारात्मक कामको आलोचना गर्न सकिने बताए। उनले भने, ‘सरकारी संरचना र व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेन–जीको मूल भावना अनुरूप छैन। जेन–जीको नाममा अराजक गतिविधि गर्नेमाथि कारबाही गर्नु सरकारको दायित्व हो। हामी शान्तिपूर्ण आन्दोलनमा छौँ, तोडफोड र आगजनीको आवाज जेन–जीबाटै आउनुपर्छ।’
महामन्त्री शर्माले कांग्रेसको नेतृत्वमा भएका विगतका राजनीतिक परिवर्तनको महत्त्व औँल्याउँदै हालको आन्दोलनले पार्टीभित्र पनि सुधार र रूपान्तरणको सन्देश दिएको बताए। उनले फरक–फरक धारणा सम्बोधन गर्दै साझा नीति निर्माणका लागि केन्द्रीय समितिको बैठक बस्ने र विधान संशोधनमार्फत जेन–जी पुस्तालाई उचित प्रतिनिधित्व दिने तयारी भइरहेको जानकारी दिए।
उनले भने, ‘मङ्सिर मसान्तभित्रै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्छ। आवश्यक परे विशेष महाधिवेशन बोलाउने प्रावधान पनि पार्टीको विधानमा छ। समयमै आवाज नसुन्दा नेताहरू ग्रेसफुल ऐक्जिटको साटो फोर्सफुल ऐक्जिटको बाटोमा पुग्छन्।’
महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको पैसाबारे सामाजिक सञ्जालमा फैलिएका भिडियोमाथि मात्रै आधार बनाएर निष्कर्ष निकाल्न नहुने पनि बताए। उनले निष्पक्ष अनुसन्धानमार्फतै सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिँदै भने, ‘पैसा कहाँबाट आयो भन्ने विषयमा सभापतिको निवास वा सरकारले अनुसन्धानमार्फत स्पष्टता दिनुपर्छ। २०४६ पछि सबै नेताहरूको सम्पत्ति छानबिन हुनु पर्छ, म स्वयं पनि छानबिनको दायरामा आउन तयार छु।’
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया