काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शनिबार मन्त्री पुन शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टर पुगेर उपचाररत घाइतेहरूलाई भेटेका हुन्। उनले घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य सुधारतर्फ रहेको बताउँदै कसैले पनि उपचारबारे कुनै गुनासो नगरेको जानकारी दिएका छन्।
मन्त्री पुनले भने, ‘बिरामीहरूको चिन्ता आफ्ना माग र देशको भविष्यप्रति बढी देखियो, उपचारबारे भने कसैले पनि असन्तुष्टि जनाएन। स्वास्थ्य सेवा सन्तोषजनक छ।’
उनका अनुसार अधिकांश घाइतेको अवस्था सुधार हुँदै गएको छ भने ट्रमा सेन्टरमा उपचाररत घाइतेमध्ये एकजनामात्र आइसीयूमा छन्।
मन्त्री पुनले घाइतेहरूसँगको भेटपछि भने, ‘घाइतेहरू देशका लागि लडिरहेका थिए भन्ने भावनाले ओतप्रोत छन्। उनीहरूको माग र आन्दोलनका मुद्दा नै जेन–जी आन्दोलनको मर्म हो। उनीहरू शरीरभन्दा पनि देश र आन्दोलनका लक्ष्यप्रति चिन्तित छन्।’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे कुरा गर्दै मन्त्री पुनले हालको राजनीतिक परिस्थितिमा कुनै पनि निष्कर्षमा पुग्न कठिन भएको बताए। उनले भने, ‘राजनीतिमा परिस्थिति क्षणमै बदलिन्छ। अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे ठोस निर्णय गर्न सकिँदैन, तर भविष्यमा परिस्थिति कसरी मोडिन्छ भन्ने थाहा हुँदैन।’
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा ७४ जनाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए। हाल विभिन्न अस्पतालहरूमा घाइतेहरूको उपचार जारी रहेको र उनीहरू क्रमशः स्वास्थ्यलाभ गर्दै गएको मन्त्री पुनले जानकारी दिए।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया