काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार भक्तपुरको गुण्डुमा आयोजित पार्टी निकट युवा संघको कार्यक्रममा उपस्थित भई अन्तरिम सरकारप्रति कडा प्रहार गरेका छन्।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो। त्यसबेला हिंसात्मक प्रदर्शन चर्किएपछि सेनाले ओलीलाई बालुवाटारबाट हेलिकप्टरमार्फत उद्धार गरी शिवपुरीमा सुरक्षित राखेको थियो। भदौ ५ गते सेनाको सुरक्षा घेऱाबाट बाहिरिएका ओली शनिबार पुनः कडा सुरक्षा व्यवस्थासहित सार्वजनिक कार्यक्रममा देखिएका हुन्।

advertisement

कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको सरकारले संवैधानिक बाटो बेवास्ता गरेर तोडफोड र आगजनीको आधारमा सत्तारोहण गरेको आरोप लगाए।
‘जेन–जी सरकार भनिएको यो सरकार जनताको अभिमतबाट होइन, हिंसात्मक गतिविधिबाट बनेको हो,’ ओलीले भने।

ओलीले हाल सरकारद्वारा शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्न लागिएको चर्चाप्रति पनि आक्रोश व्यक्त गरे। उनले आफूहरू देश छाडेर भाग्ने प्रवृत्तिका नभएको स्पष्ट पार्दै भने, ‘पासपोर्ट रोक्ने? के सोचिएको हो? हामी यो सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छौं जस्तो लागेको हो?’

उनले आफ्नो सुरक्षाप्रति सरकार बेवास्ता गरिरहेको गुनासो पनि गरे। सामाजिक सञ्जालमार्फत आफ्नै घरको ठेगाना सार्वजनिक गर्दै आक्रमणका आह्वानसम्म हुँदा समेत सरकारले कुनै कदम नचालेको उनले दाबी गरे।
‘सरकारले कर्तव्य पूरा नगरेर नागरिकलाई असुरक्षामा धकेलेको छ,’ उनले भने।

अध्यक्ष ओलीले मुलुकको विद्यमान अवस्था समाधान नभएको टिप्पणी गर्दै संवैधानिक तरिकाले मात्र निकास सम्भव हुनेमा जोड दिए। उनले दल–दलबीच संवाद र राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै भने,
‘राष्ट्रियतालाई जोगाउन राष्ट्रिय एकता अपरिहार्य छ। शान्तिपूर्ण र सामाजिक सद्भावपूर्ण एकताको आधारमा मात्रै समाधान सम्भव छ। त्यसैले सबै नेपाली एक ठाउँमा भेला होऔं, छलफल गरौं र निकास निकालौं।’

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com