काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र पार्टी दुबै संकटमा पारेको आरोप लगाएका छन्।

शनिबार सर्लाहीको लालबन्दीमा आजपा मधेस प्रदेश कमिटीको बैठक तथा दसैँ, तिहार र छठको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले ओलीको हठ र अहंकारकै कारण मुलुक डुब्ने अवस्थामा पुगेको दाबी गरे।

advertisement

‘ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र एमाले दुबैलाई ठूलो क्षति पुर्‍यायो,’ उनले भने, ‘देश जलेको छ, जनता आक्रोशित छन्, तर ओलीमा अझै पनि त्यो अहंकार कायमै छ।’

अध्यक्ष साहले ओलीलाई ‘गुण्डुमा गुन्डा भेला गर्नुभन्दा सार्वजनिक रूपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिन सुझाव दिए। ‘यदि ओलीले वास्तवमै देशको भलो चाहनुहुन्छ भने, अहिले नै माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्,’ उनले भने, ‘त्यसले एमालेको पनि भलो हुन्छ र मुलुक पनि नयाँ बाटोतर्फ अघि बढ्न सक्छ।’

देउवा दम्पतीमाथि पनि प्रहार गर्दै साहले देश संकटमा हुँदा नयाँ पासपोर्ट बनाएको प्रसंग उठाउँदै प्रश्न गरे — ‘देशको माया छ भने किन नयाँ पासपोर्ट बनाउने ? भागेर सुख पाइन्छ ?’

उनले जेनजी आन्दोलनका क्रममा नेताहरूको घरबाट पैसा भेटिएको र नोट जलेको घटनाबारे सरकारले सत्य तथ्य सार्वजनिक गर्न माग गरे। साथै, अहिलेको अन्तरिम सरकारमा जेनजी आन्दोलनका सहिद परिवार वा आन्दोलनका प्रतिनिधिहरूलाई समावेश गर्नुपर्ने सुझाव पनि दिए।

‘नेपालमा लोकप्रियतावादको हावा चलेको छ,’ उनले भने, ‘विदेशी स्वार्थ मिलाएर अर्को जेलेन्स्की जन्माउने षड्यन्त्र भइरहेको छ। देशभक्त नेपालीले सचेत हुनैपर्छ।’

साहले देश अहिले ठूला संकटको भुमरीमा फसेको भन्दै वर्तमान संविधानले अब समाधान दिन नसक्ने ठोकुवा गरे। उनका अनुसार देशले अब अन्तरिम संविधान र अन्तरिम सरकारमार्फत मात्रै निकास पाउनेछ।

‘देश लुट्ने, सन्तान र सम्पत्ति विदेश पुर्‍याउने नेताहरूलाई अब छानीछानी जनताले आक्रमण गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने।

साहले शक्ति राष्ट्रहरूको चलखेल बढ्दै गएको र नेपाली सेनाको राजनीतिक सक्रियता पनि बढ्न थालेको उल्लेख गर्दै यो प्रवृत्ति लोकतान्त्रिक दृष्टिले चिन्ताजनक भएको बताए।

उनका अनुसार अहिले देखिएका नेताहरूले देशको मुहार परिवर्तन गर्न नसक्ने भएकाले अन्तरिम सरकार लामो समय टिकाउने खेल सुरु हुन सक्ने छ।
‘हामी जुनसुकै बेला फेरि जनसंघर्षमा होमिन तयार रहनुपर्छ,’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘राज्यविहीनता बढ्दै गएको छ, त्यसैले तयारी अवस्थामा रहनैपर्छ।’

प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिँदै साहले जनविद्रोहको भावना कलङ्कित नपार्न आग्रह गरे।
‘तपाईं ओली हटाएर आफैं सत्तामा बस्नका लागि मात्र आएकी हुनुहुन्छ ? होइन भने त्यही संविधान र त्यही व्यवस्थाबाट जनविद्रोहको सम्मान कसरी हुन्छ ?’ उनले प्रश्न गरे, ‘देश एनजिओ वा आईएनजिओले चलाउने संस्था होइन, यसको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा नै अहिलेको पहिलो कर्तव्य हो।’

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com