काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई राजनीतिक र संवैधानिक निकास दिलाउन निर्धारित मितिमा नै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन्।

शनिबार मकवानपुरस्थित जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त कांग्रेस कार्यालयको अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी फागुन २१ गते हुने भनिएको निर्वाचन नै मुलुकलाई निकास दिने मार्ग भएको स्पष्ट पारे।

advertisement

‘राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तह सबैलाई निर्वाचनकै माध्यमबाट नयाँ ऊर्जा दिन सकिन्छ,’ महामन्त्री शर्माले भने, ‘त्यसैले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्छ, त्यसका लागि कांग्रेसले सहयोग गर्न तयार छ।’

उनले अन्तरिम सरकार असफल भए लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिँदै सरकार सफल बनाउन कांग्रेसको सहयोग रहने बताए।
‘हामीले अन्तरिम सरकार सफल होस् भन्ने चाहन्छौं,’ उनले भने, ‘त्यो असफल भयो भने लोकतन्त्र नै धरापमा पर्न सक्छ।’

शर्माले वर्तमान मन्त्रिपरिषद्मा योग्य र अनुभवी व्यक्तिहरू रहेका भए पनि जेनजी पुस्ताको प्रतिनिधित्व नदेखिनु कमजोरी भएको टिप्पणी गरे। उनले युवा पुस्ताको आवाजलाई सम्मान गर्दै मन्त्रिपरिषद्मा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।

‘जेनजी आन्दोलनले नयाँ सोच र नयाँ दृष्टिकोणको माग गरेको हो,’ उनले भने, ‘त्यसैले सरकारमा पनि उनीहरूको उपस्थिति जरुरी छ।’

महामन्त्री शर्माले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड जेनजी युवाहरूको वास्तविक भावना नभएको दाबी गर्दै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरे।

उनका अनुसार पछिल्लो आन्दोलनले नेपाली राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न र परिवर्तनको बाटोमा अघि बढ्न सन्देश दिएको छ।
‘युवाको भावनालाई बुझ्दै साझा धारणा बनाउन कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ,’ शर्माले भने, ‘विधान संशोधनमार्फत जेनजी पुस्तालाई औपचारिक रूपमा पार्टीको नेतृत्व तहमा समेट्ने तयारी भइरहेको छ।’

सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको पैसाबारे पनि उनले प्रतिक्रिया दिँदै भने — ‘सामाजिक सञ्जालमा भाइरल भएका भिडियोका आधारमा मात्रै निष्कर्ष निकाल्नु ठीक होइन। यो विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्छ र सत्यतथ्य सार्वजनिक गर्नुपर्छ।’

यस्तै, विशेष अधिवेशनका लागि पार्टीभित्र चलिरहेको हस्ताक्षर अभियानबारे बोल्दै शर्माले त्यसलाई नकारात्मक रूपमा नलिन आग्रह गरे। ‘विशेष अधिवेशन पार्टी विधानअनुसारकै प्रक्रिया हो,’ उनले स्पष्ट पारे, ‘केही साथीहरूले हस्ताक्षर गरेका छन् भने त्यो असन्तुष्टि होइन, लोकतान्त्रिक अभ्यास हो। कांग्रेसले फरक मतलाई पनि अँगाल्ने परिपक्वता देखाउनुपर्छ।’

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com