जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको आधिकारिक फेसबुक पेज शनिबार साँझ ह्याक भएको छ। मुख्यमन्त्रीको सचिवालयका अनुसार करिब साढे चार घण्टा नियन्त्रणबाहिर रहेको उक्त पेज आइटी विज्ञहरूको सहयोगमा पुनः सुरक्षित गरिएको हो।
सचिवालयले मुख्यमन्त्रीको आधिकारिक पेज CM Satish Singh ह्याक भएको पुष्टि गर्दै रिकभर गरेपछि सोही पेजमार्फत जानकारी सार्वजनिक गरेको छ।
सूचनामा उल्लेख छ, ‘माननीय मुख्यमन्त्री सिंहज्यूको सचिवालयद्वारा सञ्चालित आधिकारिक फेसबुक पेज हिजो साँझ ह्याकरहरूले ह्याक गरेका थिए। सचिवालयका सदस्यहरू र आइटी विज्ञहरूको निरन्तर प्रयासपछि साढे चार घण्टाको कडा मेहनतपछि पेज पुनः नियन्त्रणमा ल्याउन सफल भएका छौं।’
सचिवालयले ह्याकिङको घटनालाई मुख्यमन्त्रीको छवि र कार्यशैली कमजोर पार्ने नियतसँग तुलना गर्दै थप गरेको छ, ‘ह्याकरहरूको यस्तो कदमले हाम्रो उत्साह कम भएको छैन। बरु यसले अझ दृढ संकल्पका साथ जनसेवाको यात्रामा अघि बढ्ने प्रेरणा दिएको छ।’
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार













प्रतिक्रिया