काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्ने शक्तिहरू कहिल्यै सफल नहुने दाबी गरेका छन्।

शनिबार बिहान महाराजगन्जस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र देशको सुदृढीकरणका लागि सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

advertisement

उनले भने, ‘अब सबै दल र नेता सचेत, संगठित र जिम्मेवार भएर लोकतन्त्र बचाउन तथा देशलाई बलियो बनाउन अघि बढ्नुपर्छ। नेपाली कांग्रेस फेरि उठ्नेछ र जनताको विश्वास पुनः प्राप्त गर्नेछ।’

महतले विगतका केही कमजोरी र त्रुटिहरूलाई आत्मसमीक्षा गर्दै सुधारका साथ अघि बढ्ने कांग्रेसको प्रतिबद्धता दोहोर्‍याए। उनले पार्टी कार्यालय र नेताहरूका घरमा तोडफोड र आगजनी भए पनि पार्टीको आत्मबल नघटेको र कांग्रेस पुनः जागृत भएर अघि बढ्ने दृढ विश्वास व्यक्त गरे।

उनका अनुसार पछिल्ला घटनाहरू राजनीतिक दलहरूलाई कमजोर पार्ने योजनाअन्तर्गत गरिएका हुन्। उनले भने, ‘ठूलो बलिदान, त्याग र तपस्याबाट बनेका राजनीतिक दलहरूलाई थिलथिलो पार्ने षड्यन्त्र भइरहेको छ, तर त्यसमा सफल हुने प्रयास असफल हुनेछ।’

प्रवक्ता महतले नेपाललाई विकास, समृद्धि र रोजगारीमुखी अर्थतन्त्रतर्फ लैजान कांग्रेसले गम्भीर रूपमा विचार गरिरहेको बताउँदै, पार्टी अब जनताको जीवनस्तर सुधार्ने ठोस योजनासहित अघि बढ्नेमा जोड दिए।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com