काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ऐतिहासिक जीत हासिल गरेको नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले लेखेका छन्, ‘युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई पराजित गर्दै ऐतिहासिक विजय हासिल गरेकोमा सम्पूर्ण खेलाडी र टिम सदस्यहरूलाई हार्दिक बधाई।’

advertisement

शनिबार राति सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो। १४९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन मात्र बनाउन सकेको थियो।

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको यस उपलब्धिलाई युवाशक्ति, अनुशासन र राष्ट्र निर्माणप्रतिको अटुट प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गर्दै लेखेका छन्, ‘यो जितले नेपाली युवाहरूको सामर्थ्य, दृढता र विश्वस्तरमा प्रतिस्पर्धा गर्ने क्षमताको प्रमाण प्रस्तुत गरेको छ।’

उनले नेपाली टोली आगामी खेलहरूमा पनि अझ उत्कृष्ट प्रदर्शन गर्दै मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा थप गौरवान्वित पार्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com