काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनहरू रोजगारी सिर्जनाको उत्कृष्ट अवसरका रूपमा विकसित हुन सक्ने बताएका छन्।
आइतबार काठमाडौंको सामाखुसीमा चेन्ज डिजिटलले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री घिसिङले भने, ‘चार्जिङका क्रममा सवारी साधनलाई केही समय लाग्ने भएकाले यात्रुहरूका लागि वरपर होटल, रेस्टुरेन्ट, कफीसप जस्ता सेवा केन्द्र खोल्न सकिन्छ, जसले युवाहरूमाझ नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्नेछ।’
उनले विद्युतीय सवारी साधनको प्रयोग बढाउँदा वायु प्रदूषण नियन्त्रण र हरित अर्थतन्त्रतर्फको यात्रामा ठूलो योगदान पुग्ने बताए। ‘नेपाललाई दिगो र हरित अर्थतन्त्रतर्फ लैजान इन्धनमा निर्भर सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्नु अबको आवश्यकता हो,’ मन्त्री घिसिङले जोड दिए।
चार्जिङ स्टेसन व्यवसाय लगानीकर्ताका लागि आकर्षक क्षेत्र बन्न सक्ने उल्लेख गर्दै उनले यसबाट देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, नेपालमा उत्पादित जलविद्युतको उपभोग घरायसी, औद्योगिक र यातायात क्षेत्रमा बढाउन सके पेट्रोलियम पदार्थको आयात घट्नेछ, जसले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउने र अर्थतन्त्र सुदृढ बनाउनेछ।
मन्त्री घिसिङले सरकार विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्न नीतिगत तथा कार्यक्रमगत रूपमा सक्रिय रहेको पनि बताए। सरकारको लक्ष्य सन् २०३० सम्म निजी सवारी साधनको ९० प्रतिशत र सार्वजनिक सवारी साधनको ७० प्रतिशतलाई विद्युतीय बनाउने रहेको छ। सो लक्ष्य सन् २०३५ सम्म क्रमशः ९५ र ९० प्रतिशतमा पुर्याउने योजना पनि बनाइएको छ।
हाल नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा ६२ वटा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिसकेको छ भने निजी क्षेत्रका करिब ८०० चार्जिङ स्टेसन सञ्चालनमा छन्।
त्यस्तै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गतको ‘दिगो ऊर्जा चुनौती कोष’ मार्फत चार्जिङ स्टेसन स्थापना गर्न सहयोग प्रदान गर्दै आएको छ। केन्द्रले हालसम्म १८ वटा कम्पनीसँग साझेदारी गरेर ४५ वटा आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरेको जनाएको छ।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार













प्रतिक्रिया