काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी आन्दोलन र शहीद परिवारलाई समेट्नुपर्ने सुझाव दिएका छन्।
रौतहटको फतुवाबिजयपुर नगरपालिका–२ सितलपुरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले आन्दोलनकै बलमा बनेको सरकारमा त्यही समूहको प्रतिनिधित्व नहुनु विडम्बनापूर्ण भएको बताए। ‘ यो सरकार जेन–जी आन्दोलनको रगत र बलिदानको परिणाम हो। त्यसैले आन्दोलनका सहभागी वा शहीद परिवारलाई सरकारमा स्थान दिनैपर्छ, उनले जोड दिए।
साहले यसअघि मुलुकमा दुईतिहाई बहुमत प्राप्त गरिएका कांग्रेस–एमाले नेतृत्वको सरकारले देश जोगाउन नसकेको आरोप समेत लगाए। अहिले दुबै दलभित्र नेतृत्व पुस्तान्तरणको बहस चलिरहेको भन्दै उनले केपी शर्मा ओली र शेरबहादुर देउवाले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताए। ‘यी पुराना नेताहरुलाई अब स्थायी रुपमा राजनीतिबाट बिदा दिनु विकल्प होइन, आवश्यकता हो,’ उनले टिप्पणी गरे।
अध्यक्ष साहले वर्तमान संविधानले मुलुकको समस्या समाधान गर्न नसक्ने दाबी गर्दै अन्तरिम संविधान र अन्तरिम सरकारमार्फत मात्र राजनीतिक निकास सम्भव हुने धारणा राखे।
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार












प्रतिक्रिया