काठमाडौं । नेकपा यशका महासचिव घनश्याम भुसालले मुलुकको राजनीतिक संकट समाधान गर्न प्रमुख दलका वर्तमान नेतृत्वलाई प्रतिस्थापन गर्नु अपरिहार्य भएको बताएका छन्।
जेनजी आन्दोलनपछिको अवस्थाबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा भुसालले अहिलेको क्षणलाई ‘देशलाई नयाँ बिन्दुमा लैजाने महत्वपूर्ण अवसर’ का रूपमा चित्रण गर्दै पुरानो नेतृत्वबाटै समस्याको निकास सम्भव नभएको स्पष्ट पारे।
उनले राजनीतिक दलहरूले दुई महिनाभित्र सुधार गर्न नसके ठुलो क्षति भोग्नुपर्ने चेतावनी पनि दिए। ‘अहिलेको नेतृत्वलाई जोगाएर अघि बढ्ने अवस्था छैन। यो कुरा मेरो पार्टीमा पनि लागू हुन्छ, ठूला–सानासबै दलमा लागू हुन्छ,’ भुसालले भने।
बाम एकताको सन्दर्भमा उनले प्रचण्ड वा माधव नेपालको नेतृत्वमा त्यो सम्भव नभएको दाबी गरे। “समग्रमा बाम एकता अभियान चलेको थियो। तर प्रचण्डकै वा माधव नेपालकै नेतृत्वमा त्यो अब सम्भव छैन,’ उनले प्रस्ट पारे।
भुसालले कम्युनिस्ट नेताहरूको जीवनशैली नै सर्वसाधारणलाई निराश बनाउने कारक भएको उल्लेख गर्दै व्यवहार र सिद्धान्तबीच ठूलो अन्तर देखिएको बताए। ‘भ्रष्टाचार नगर्ने पार्टी चाहिन्छ भन्ने जेनजीको अभियान हाम्रो पनि माग थियो, तर हामी कार्यान्वयनमा लैजान सकिएन,’ उनले स्वीकारे।
भ्रष्टाचारविरोधी भाषण गर्ने तर व्यवहारमा उल्टो काम गर्ने नेताहरूले अहिलेको संकट निम्त्याएको भुसालको आरोप छ। उनले चेतावनी दिँदै भने, ‘यति ठूलो दबाबपछि पनि नेतृत्व नसुध्रिए, दलहरू इतिहासमा सीमित हुन्छन्। विकल्पका रूपमा नयाँ शक्तिले ठाउँ पाउनेछ।’
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार












प्रतिक्रिया