काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। सो निर्णयअनुसार पार्टीले मातहतका कमिटीहरूलाई निर्देशनसहित सर्कुलर पठाएको छ।
कमलादीस्थित प्रज्ञा भवनमा असोज ९–१० गते सम्पन्न आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकका निष्कर्षसमेत सर्कुलरमार्फत बाँडिएको एक प्रदेश अध्यक्षले जानकारी दिए। महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरमा पठाइएको सर्कुलरमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई पार्टीको प्रमुख एजेन्डा बनाइएको उल्लेख छ।
सर्कुलरमा भनिएको छ, “हाम्रो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र दलहरूको सिफारिसमा विज्ञहरूको मन्त्रीपरिषद् गठनलगायतका मुद्दा निरन्तर उठाउनेछ।” माओवादी केन्द्रले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएको छ।
पार्टीले यसै वर्ष मङ्सिरको अन्तिम सातासम्म विशेष महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ। त्यसका लागि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ भने संयोजकमा अध्यक्ष प्रचण्ड चयन भएका छन्। साथै बहुपदको व्यवस्था स्थगन गरी सचिवालय गठन गर्ने निर्णय गरिएको सर्कुलरमा उल्लेख छ।
बैठकले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग तत्काल एकताको पहल गर्ने र सहमति जुटे विशेष महाधिवेशनलाई ‘एकता महाधिवेशन’का रूपमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ।
यससँगै पार्टीले आन्तरिक शुद्धिकरण र संगठनात्मक सुधारका लागि उच्चस्तरीय आयोगमार्फत सम्पत्ति छानबिन, जीवनशैली र निजी सचिवालयसम्बन्धी मापदण्ड कार्यान्वयन, प्रविधिमैत्री कार्यालय र समिति विकास, तथा हरेक संरचनामा एक तिहाइ युवाको अभ्यास लागू गर्ने योजनासमेत अघि सारेको छ।
प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया