काठमाडौं । दशैं पर्वका अवसरमा विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू दुई दिनका लागि बन्द हुने भएका छन् । असोज १५ गते नवमी र १६ गते टीकाको दिन दूतावासहरूले सार्वजनिक बिदा दिने व्यवस्था गरेका हुन् ।
यसबारे विभिन्न दूतावासहरूले औपचारिक सूचना जारी गर्दै असोज १५ र १६ गतेका दिन सेवा प्रवाह नहुने जानकारी गराएका छन् । तथापि, अत्यावश्यक काम परेको खण्डमा भने सम्बन्धित नियोगमार्फत सेवा उपलब्ध गराइने दूतावासहरूले स्पष्ट पारेका छन् ।
नेपाल राजपत्रमा २०८१ साल फागुन १५ गते प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार विदेशस्थित नियोगहरूलाई सम्बन्धित मुलुकका सार्वजनिक विदा समेत विचार गरी बढीमा १८ दिनसम्म आफैंले विदा समायोजन गर्ने अधिकार दिइएको छ ।
यद्यपि, देश अनुसार विदाको अवधि फरक देखिएको छ । संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले यस वर्ष दशैंका लागि तीन दिन बिदा दिने निर्णय गरेको छ भने अन्य धेरै दूतावासहरूले दुई दिनमै बिदा सीमित गरेका छन् ।
प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया