एजेन्सी ।  इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई उद्धारकर्ताहरूले अक्सिजन र पानी उपलब्ध गराउँदै आएका छन् ।

मङ्गलबार बिहानसम्म १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि बाँचेका मानिसहरूलाई मुक्त गर्न उनीहरू निरन्तर प्रयासरत छन् । कम्तीमा एक जना विद्यार्थीको निधन भएको पुष्टि भएको छ भने, दर्जनौँ घाइते हुनुका साथै करिब ६५ जना भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ ।

advertisement

पूर्वी जाभाको सिडोआरजोस्थित अल खोजिनी इस्लामिक बोर्डिङ स्कुलमा भएको दुर्घटनापछि उद्धारकर्मी, प्रहरी र सैनिकहरूले रातभरि उत्खनन गरी आठ जना कमजोर र घाइते विद्यार्थीलाई बाहिर निकाल्न सफल भएका थिए । तर भग्नावशेषभित्र थप शव देखिएकाले मृतकको सङ्ख्या बढ्ने आशङ्का गरिएको छ ।

भग्नावशेष हल्लिएर अर्को दुर्घटना हुने जोखिम देखिएपछि मङ्गलबार बिहान १०ः१५ बजे उद्धार कार्य अस्थायी रूपमा रोक्नुपरेको थियो । घटनास्थलमा रहेका दर्जनौँ एम्बुलेन्स र उद्धार टोलीहरूले सुरक्षाको कारण सबैलाई तत्काल क्षेत्र खाली गर्न आग्रह गरेपछि उपस्थितहरू आतङ्कित हुँदै भागेका थिए ।

विद्यार्थीहरूका परिवारजनहरू अस्पताल तथा ध्वस्त भवन वरिपरि भेला भई आफ्ना प्रियजनको खबरको प्रतीक्षामा बसिरहेका छन् । धुलोले ढाकिएका घाइते विद्यार्थीहरूलाई बाहिर निकालिँदा आफन्तहरूले विलाप गरेको दृश्य हृदयविदारक बनेको छ । विद्यालय परिसरमा राखिएको सूचना बोर्डअनुसार मङ्गलबार बिहानसम्म ६५ जना विद्यार्थी बेपत्ता रहेको र उनीहरू प्रायः १२ देखि १७ वर्ष उमेरका भएको उल्लेख गरिएको छ ।

‘हे भगवान्… मेरो छोरो अझै भग्नावशेषमुनि छ, कृपया मद्दत गर्नुहोस् !’ भन्दै एक आमाले आँसु झारिरहेका थिए । त्यस्तै एक बुबाले उद्धारकर्ताको हात समात्दै ‘कृपया, सर, मेरो छोरालाई तुरुन्तै खोजिदिनुहोस्’ भनेर विन्ती गरे ।

उद्धार प्रयासको नेतृत्व गरिरहनुभएका अधिकारी नानङ सिगितका अनुसार कङ्क्रिटका भारी स्ल्याब र अस्थिर भागहरूले खोजीमा कठिनाइ बढाएको छ भारी उपकरण प्रयोग गर्दा थप दुर्घटना हुने जोखिम भएकाले प्रयोग नगरेको उनले बताए । ‘हामी अझै पनि फसेकाहरूलाई अक्सिजन र पानी प्रवाह गरिरहेका छौँ, बाँचेका व्यक्तिहरूलाई जीवित राख्दै बाहिर निकाल्न केन्द्रित भएका छौँ’, उनले भने ।

सयौँ उद्धारकर्मीहरू सास फेर्न सहयोग गर्ने उपकरण, निकासी तथा स्वास्थ्य उपचार सामग्रीसहित खटिएका छन् । विद्यार्थीहरू दिउँसो प्रार्थना गरिरहेको बेला दुर्घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता जुल्स अब्राहम अबास्टका अनुसार दुर्घटनाग्रस्त भवन एक अनधिकृत विस्तार गरिएको संरचना थियो ।

उद्धारपश्चात घाइते विद्यार्थीहरूलाई नजिकैका बासिन्दा, शिक्षक तथा प्रशासकहरूले प्राथमिक उपचारमा सहयोग गरेका थिए । धेरैलाई टाउकोमा चोट लागेको तथा हड्डी भाँचिएको अवस्था थियो । महिला विद्यार्थीहरू भने भवनको अर्को भागमा प्रार्थना गरिरहेकाले भाग्न सफल भएको बताइएको छ ।

अधिकारीहरूका अनुसार १३ वर्षे एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १०२ जना विद्यार्थी घाइते भई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार दुई तले पुरानो भवनलाई अनुमति बिना थप दुई तला बनाइएको थियो । ‘पुरानो भवनको जगले कङ्क्रिटका थप तला सहन सकेन र ढलेको देखिन्छ’, अबास्टले भने ।

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com