काठमाडौं । पाँच वर्षको अन्तरालपछि भारत र चीनबीच सिधा हवाई सेवा फेरि सञ्चालन हुने भएको छ। दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयसम्म भएको वार्तापछि यस महिनाको अन्त्यदेखि नै उडान सुरू गर्ने सहमति भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सीधा हवाई सम्पर्क पुनः सुरू भएपछि व्यापार, पर्यटन र व्यावसायिक साझेदारीलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। कोभिड–१९ महामारीका कारण कटौती गरिएका उडान त्यसयता पुनः सुरू हुन नसकेका थिए। त्यसमाथि सन् २०२० मा ग्वालन क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपपछि कूटनीतिक सम्बन्धमा आएको तिक्तताले प्रक्रियालाई अझ ढिला बनाएको हो।

advertisement

यसअघि शंघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तामा सीमा व्यापार, भिसा प्रक्रिया सजिलो बनाउने र सीधा हवाई उडान पुनः सञ्चालन गर्ने विषयमा सहमति जुटाइएको थियो। त्यसयता प्राविधिक टोलीबीच निरन्तर वार्ता हुँदै आएको थियो।

नयाँ व्यवस्थाअनुसार दुवै देशका तोकिएका विमान सेवाहरूलाई तोकिएका गन्तव्यमा सिधा उडान सञ्चालन गर्ने अनुमति दिइनेछ। यो व्यवस्था सन् २०२५ को जाडो मौसमी तालिकादेखि लागू हुने बताइएको छ।

यसबीच भारतको निजी विमान कम्पनी इन्डिगोले चीनतर्फ आफ्नो सेवा पुनः सञ्चालन गर्ने औपचारिक घोषणा गरेको छ। कम्पनीले अक्टोबर २६, २०२५ देखि कोलकाता–ग्वाङ्जाउबीच दैनिक प्रत्यक्ष उडान सुरू गर्ने जनाएको छ। साथै, नियामकीय स्वीकृति पाएपछि दिल्ली–ग्वाङ्जाउ मार्ग पनि सञ्चालन गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ। यी उडानका लागि एयरबस ए–३२० एनईओ विमान प्रयोग गरिनेछ।

प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com